आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाण्डाै – सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् ।

अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

नेपाल, ओमान र अमेरिकाबीचकाे एकदिवसीय शृङ्खला स्थगित

आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।

यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ । मे महिनामा हुने भनिएको पपुवा न्यु गिनी, अमेरिका र नामिबियायाको शृङ्खला पनि स्थगित गरिएकाे आईसीसीले जनाएकाे छ । कोरोना सङ्क्रमण जोखिम र क्वरेण्टीनको प्रावधानका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अर्को सूचना नआएसम्मका लागि शृङ्खला स्थगित भएको क्यानले जनाएको छ । शृङ्खलाका लागि नेपालले कीर्तिपुर मैदानमा प्रशिक्षणसमेत सुरु गरिसकेको थियाे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

72 ÷ twelve =