काठमाडौं : मध्य बैशाखको चर्को घाम । पिठ्यूँमा भारी झोला छ । असिनपसिन अनुहार लिएर गाडी कुरिरहेका थिए उपेन्द्र कुँवर । सरकारले कोरोना संक्रमण निरन्तर उकालो लागिरहेका कारण बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने भएपछि उनी गाउँ फर्किनलाई बिहानै पाँच बजे नै बालाजुस्थित नयाँ बसपार्क क्षेत्र पुगेका थिए ।
‘अब यहाँ काम पनि हुँदैन’, उनी भन्छन्, ‘कहिलेसम्म बन्द हुने पनि थाहा छैन । बरु, घरतिरै जाने भनेको टिकट नै पाएको छैन ।’
बिहानै आएर बसपार्कमा बसेका उनले १० बजेमात्र टिकट हात पारे । त्यो पनि बेलुकी जाने गाडीको । दिनभर बसपार्क क्षेत्रमै बस्नुछ उनलाई।
पुल्चोक ललितपुरस्थित एक कन्सट्रक्सन कम्पनीमा काम गर्छन् उनी । बस्ने व्यवस्था कम्पनीले नै गरे पनि लकडाउन भएपछि काम नहुने डर छ उनलाई । अघिल्लो पटक पनि लकडाउनमा घर नगई काठमाडौं नै बसेका उनले केही समय त पाएका थिए काम । तर, लकडाउन थपिँदै गएपछि काम नपाएको बताउँछन् । उनी भन्छन्, ‘यसपाली पनि त्यस्तै होला भनेर घर जान लागेको ।’
आफ्नो सरसामान लिएर बसपार्क आएका उनले यसपटक घर जाँदा परिवारलाई केही सामान लैजान पाएका छैनन् । अघिल्लो पटक चैतबाट भएको लकडाउन बीचमा खुलेपछि घर फर्किएका थिए उनी । गत असोजमा फेरि काठमाडौं आए । काम त सुरु भयो । तर, उनले गर्ने निर्माण सम्बन्धी कामले राम्रोसँग गति लिन नपाउँदै फेरि संक्रमण बढेकाले सरकारले निषेज्ञाधा जारी गर्ने निर्णय गर्यो ।
‘कम्पनीले घर जाने भए जाउ भन्यो,’ कुँवर भन्छन्, ‘अब यहाँ बसेर काम नभए खर्च मात्रै हुन्छ । घर गए बरु दुई छाक खान त पाइन्छ ।’
सामाखुसीमा खाजापसल गर्दै आएकी गीता बुढाथोकी पनि बुधबार बिहानै बसपार्क आइपुगिन् । टिकट पाउँथ्यो भने दिउँसो ३र४ बजे त आफ्नो तनहुँस्थित घर पुगिसक्थिन् उनी । तर, बिहानै टिकट पाइएन । जसोतसो उनका श्रीमान बेलुकी जाने गाडीको टिकट काट्न सफल भए ।
काखमा साढे एक वर्षीया छोरी लिएर हिँडेकी उनलाई अब कहिले काठमाडौं फर्किने थाहा छैन । उनी भन्छिन्, ‘अघिल्लो पटकको कोठा भाडा जसोतसो तिरिएको थियो । अहिले फेरि ऋण लाग्ने भयो ।’
सामाखुसीमा आफ्नो पसलको मासिक २२ हजार भाडा तिर्नुपर्छ उनले । बानियाटारमा बस्ने ठाउँमा दुई कोठाको भाडा १४ हजार छ । तर, परिवारको आम्दानीको श्रोत त्यहि एउटा पसल मात्रै हुँदा फेरि त्यही पनि बन्द गर्नु परेकाले अब अन्योलमा परेको बताउँछिन् उनी । भन्छिन्, ‘पसल बेच्न खोजेको, बिकेन । बुढाको जागिर पनि गुम्यो । अब फेरि बस्दै नबसेको भाडा तिर्नुपर्छ ।’
उपत्यकासहित कोरोना संक्रमण बढिरहेका कारण पछिल्ला केही दिनयता केन्द्र सरकार र स्थानीय सरकारले विभिन्न जिल्ला तथा स्थानीय निकायलाई केही समय निषेधाज्ञा लगाउने निधो गरेका छन् ।
काठमाडौं उपत्यकाका तीनैवटा जिल्लाले सोमबार बसेको बैठकबाट एक सातालाई उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको थिए । भोलिपल्टै मन्त्रिपरिषद्को बैठकले एक साताको निषेधाज्ञालाई बढाएर १५ दिनको बनायो ।
चैत २०७६ मा सरकारले आकस्मिक लकडाउनको घोषणा गर्दा आम सर्वसाधारण पैदलमार्फत नै सैयौं किलोमिटरको यात्रा गर्न बाध्य थिए । तर, यसपटक उपत्यकामा रहेका मानिसलाई आफ्नो गाउँ फर्किन सरकारले दुई दिनको समय दिएका कारण सोमबार यता ५ लाखभन्दा धेरै मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन् ।
आकस्मिक बाहेकका क्षेत्रहरुलाई बन्द गर्ने सरकारको निर्णयका कारण यी क्षेत्रसँग संलग्न रहेका तथा यी क्षेत्रमा काम गर्ने प्रायः मानिसहरुले काठमाडौं छाडिरहेका छन् । अघिल्लो पटक सरकारले एक सातालाई गरेको लकडाउन बढाएर महिनौंसम्म पुर्याएजस्तै यसपटक पनि हुने उनीहरुलाई डर छ ।
यस्तै डरका कारण उपत्यका छाडेर जाँदैछिन् सुनिता राउत । परिवारसँगै चाबहिल चुच्चेपाटी बस्ने राउतको घर नवलपरासी बर्दाघाटमा छ ।
अघिल्लो पटक लकडाउन हुँदा घर फर्किने समय नपाएकी उनले उपत्यकामै सकसपूर्ण दिनहरु बिताएको बताउँछिन् । भन्छिन्, ‘बाहिर निस्कन पनि नपाइने । काम पनि थिएन । चार÷पाँच महिना ऋणै ऋणमा बस्नुपर्यो ।’
सुनिताका श्रीमान ठमेलस्थित एक होटलका लागि ड्राइभरको काम गर्छन् । सुनिता आफू चुच्चेपाटीमै कस्मेटिक पसल चलाएर बसेकी छिन् । दुई वर्षे छोरासँगै उनको दैनिकी पसलमै बित्ने गथ्र्यो ।
तर, गत वर्षको लकडाउनमा लामो समय पसल खुल्न सकेन । श्रीमानको काम पनि ठप्प थियो । विदेशी पर्यटक त परको कुरा लकडाउन खुलेको धेरै समयसम्म स्वदेशी पयर्टककै लागि पनि ठमेल खुलेन ।
सुनिता भन्छिन्, ‘जसो तसो यहिँ बसिएको थियो । अस्ती दसैंमा घर गएर आएपछि बल्ल पसल पनि खोल्न पाइयो । अलि अलि व्यापार नहुँदै फेरि लकडाउन हुने भयो ।’
सरकारले दुई सातालाई भनेता पनि अघिल्लो पटकजस्तै महिनौंसम्म निषेधाज्ञा लम्बिने अड्कल काटछिन् सुनिता । भन्छिन्, ‘पहिला पनि दुई हप्ता, तीन हप्ता भनेर पाँच÷छ महिना लकडाउन भयो । यसपाली पनि त्यस्तै हुन्छ भनेर घर हिँडेको ।’
दुई दिनअघिसम्म लाजिम्पाटमा निर्माणको काम गरिरहेका बलराम थारु पनि झोलासहित बसपार्कमा भेटिए । उनी घर जानलाई आएका थिए । निषेधाज्ञाको निर्णयसँगै बलराम कार्यरत कम्पनीले उनलाई बिदावारी गरिसकेको छ ।
बिहान ५ बजे नै बसपार्क आइपुगेका उनले अहिलेसम्म आफ्नो गृहजिल्ला जाने टिकट पाएका छैनन् । भन्छन्, ‘बाहिरबाट जाने गाडीले पैसा धेरै लिन्छ । यहाँ टिकट नै पाएको छैन ।’
बलरामसँगै एउटै कम्पनीमा काम गर्ने अन्य ४ जना पनि राजविराज नै फर्किरहेका छन् । अघिल्लो पटकको लकडाउनमा पनि घर गएका बलराम यसपटक घर गएपछि नफर्किने सोचमा छन् । भन्छन्, ‘बल्ल बल्ल तीन महिनाअघि आएर काम गर्न थालिएको थियो । अब फेरि लकडाउन भयो । अब त फर्किन्न होला ।’
उमेरले ६० भन्दा बढि भइसकेका बलराम आफ्नो गाउँमा काम नपाउने बाध्यताका कारण काठमाडौं आउँछन् । तर, कोरोना संक्रमणका कारण उनलाई अहिले यो शहर आफ्नो लागि नभएको महशुस भइरहेको छ । भन्छन्, ‘काम हुँदा कम्पनीले बस्न दिन्थ्यो । अब काम छैन् । यहाँ बसेर पनि के गर्नुरु घर नै फर्किएर उतै केही गर्ने सोच छ ।’
बलरामजस्तै बर्दियाका अमर शाही कोरोनाकै डरले काठमाडौं छोड्दैै छन् । च्यासलस्थित एक विद्यालयमा मिस्त्रिको काम गर्र्दै आएका शाहीको लकडाउन भए पनि काम चलिरहने बताउँछन् । तर, उनले काठमाडौं बस्न मन गरेका छैनन् ।
बुधबार बिहान बसपार्कमा भेटिएका उनले भने, ‘बरु मरे पनि आफ्नै गाउँमा गएर मर्ने हो ।’
सरकारले लकडाउन गर्नेजस्तो संकेत गरेको केही दिनअघि नै उनी घर जान खोजेका हुन् । तर, ठेकेदारले ज्याला गरेवापतको पैसा दिएनन् । ‘उसले पनि अरुबाटै पैसा उठाउन पर्ने । उसैले समयमा नपाएपछि हामीले कहाँबाट पाउनु रु,’ शाही भन्छन्, ‘समयमै पैसा पाएको भएदेखि अहिलेसम्म घर पुगिसक्थेँ ।’
समयमा पैसा दिएको भए उनी बेलैमा टिकेट खरिद गर्थे । नभन्दै काठमाडौं उपत्यकामा बैशाख १६ बाट निषेधाज्ञा हुने भयो । सरकारले उपत्यकामा बस्नेलाई घर जानका लागि दुई दिनको समय दियो ।
१४ गते साँझ ठेकेदारले बल्ल पैसा दिए । शाही भन्छन्, ‘तीन हजार मात्रै दियो ठेकेदारले । चौध सय त बसकै भाडा लाग्यो ।’ सोही साँझ हतार हतार ९पैसा पाएकै साँझ अर्थात मंगलबार नै उनी बालाजुस्थित बसपार्क आइपुगे टिकट काट्न । टिकट पाए भोलिपल्ट साँझ ५ बजेको । लाइनमा बसेर टिकट लिइसक्दासम्म झमक्कै रात परिसकेको थियो ।
‘हिजो च्यासल फर्किन ट्याक्सीले हजार रुपैयाँ माग्यो । बरु यहिँ बस्छु भनेर होटलमा बसें’, उनी भन्छन्, ‘अब यो लकडाउन कहिलेसम्म हुने हो । बरु आफ्नै गाउँ जान्छु भनेर हिँडेको ।’