कुवेत पुग्यो नेपाली टोली, यस्तो छ आगामी खेल तालिका

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। फिफा विश्वकप २०२२/ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली टोली कुवेत आइतबार राति कुवेत पुगेको हो।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको थियो। कुवेतमा नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ ।

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६(२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।

कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले सेन्ट्रल भेन्युको रुपमा कुवेतमा खेलाउन लागेको हो ।

यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ ।

कुवेतसँग दुवै खेल खेलिसकेको नेपाल ७-० र १-० ले पराजित भएको थियो । यस्तै अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो ।

नेपालले छनोटको पछिल्लो खेल २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग खेलेको थियो र उक्त खेलमा १-० ले पराजित भएको थियो । त्यसको करिब १८ महिनापछि नेपालले छनोटको खेल खेल्न लागेको हो ।

विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना नेपालको लगभग सकिसकेको छ । अंकगणितीयरुपमा मात्र झिनो सम्भावना बाँकी छ ।

तर २०२३ मा हुने एसियन कपको समेत यो छनोट रहेकोले नेपाललाई बाँकी ३ खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपाल चौथो स्थानमै रहेर छनोट सकाए एसिया कपको लागि सिधै छनोट हुने सम्भावना रहन्छ । पाँचौ भएमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि पनि थप प्लेअफ राउण्ड खेल्नुपर्ने हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = forty nine