
पोखरा। मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली बिहीबारै मनाङ प्रस्थान गरेको छ ।
सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए अनुसार गृह मन्त्रालयको समन्वयमा हेलिकप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ प्रस्थान गरेको हो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन समेत निर्देशन दिएको खड्काले बताए ।
यस्तै,गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।
प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
मनसुनको सुरुवाति मै यसरि आएको बाढीका कारण गण्डकीका विभिन्न जिल्लाले ठूलो क्षति व्यहोरिरहेका छन् भने बाढी, पहिरोका कारण हजारौं परिवार विस्थापित भएका छन्,विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।