कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरो,सडक अवरुद्द !

कालीकोट लगातारको वर्षापछि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा अवरोध भएको छ । ठाउँ–ठाउँमा पहिरो खस्दा सडकमा अवरोध भएको हो ।

दैलेखको किटु, कालीकोटको गगने खोला, हुल्म, सुनार खोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको छ । सडकमा अवरोध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् ।

यसअघि गएको मङ्गलवार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्गमा फेरि अवरोध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । वर्षाले ठाउँ–ठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् ।

पानी परेपछि पहिरो झरिहाल्ने समस्या बढी भएको र पूर्वतयारी गर्न नसकिए फेरि विपद्ले सताउने हुँदा अहिले जिल्ला विपद् व्यवस्थापन समिति पूर्वतयारीमा लागिरहेको प्रजिअ आचार्यले बताउनुभयो ।

यसैबीच दुई हप्ताअघि कालीकोट पुग्नु भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गएको वर्ष जिल्लाभर भत्किएका एक हजार एक सय घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले बाढी–पहिरोजस्ता विपद् प्रतिकार्यका लागि १० करोड रुपैयाँ बजेट छुट्ट्याउने भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = one