
सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा असार १ गते रातिको भन्दा पनि भयानक बाढी गएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जितराज थापाले साँझदेखि मेलम्चीमा भयानक बाढी आएको लोकान्तरलाई शुक्रबार अबेर जानकारी दिए ।
‘असार १ गतेको भन्दा पनि भयानक बाढी आएको छ, बाढीको पूर्वसूचना पाएकाले मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कोही कहीँ कतै मानवीय क्षति भए नभएको एकिन गर्न सकेका छैनौं’, उनले भने, ‘रातको समय भएकाले नदीले कहाँ कति क्षति पुर्याएको भन्न सक्ने अवस्था पनि छैन ।
तर अहिले मेलम्चीमा आएको बाढी निकै भयानक भएकाले अवस्था दर्दनाक भएको उनले बताए । उनका अनुसार बाढीले वडा नम्बर ६ सहित वडा नम्बर ११, १२ र १३ र १० मा क्षति भएको जानकारी आएको छ ।
बाढीले कतिपय स्थानको झोलुंगे र पक्की पुल समेत बगाएको बताइएको छ ।
वर्षापछि इन्द्रावती नदीमा पनि भीषण बाढी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बाढी पूर्वानुमान शाखाले पनि भोटेकोशीको बाढीले नदी सतह पार गरेको जनाएको छ ।
माथिल्लो तटीय क्षेत्रमा भीषण वर्षा भएकाले बाढी आएको बताइएको छ । तर आज मेलम्ची क्षेत्रमा भने सामान्य मात्रै वर्षा भएको थियो ।