
काठमाडौँ । भरतपुर महानगरपालिकाले आधुनिक कृषि फार्मलाई धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । आइतबार भरतपुर महानगरपालिकाद्वारा धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराउने कार्यक्रममा मेयर रेणु दाहाल तथा उपमेयर पार्वती शाह ठकुरीले मेसिनको उद्घाटनपछि हस्तान्तरण गरेका छन् ।
मेयर तथा उपमेयर आफैले मेशिनबाट धान रोपी मेशिन हस्तान्तरण कार्यक्रमको उत्दघाटन गरेका थिए । नयाँ मेशिनले आजै ४ बिघामा धान रोपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले बताए ।
उनका अनुसार भरतपुर महानगरपालिकाको १० लाख अनुदान र फार्मको १२ लाख ५० हजार गरी २२ लाख ५० हजार रुपैयाँमा मेशिन खरिद गरिएको हो । नेपालको महानगरले त्यति ठुलो धान रोप्ने मेसिन किनेर दिएको घटना पहिलो भएको पनि उनले बताए ।
पछिल्लो समय चितवनका किसानको प्रविधिमा आकर्षण बढ्न थालेको छ । स्थानीय सहकारीले प्रविधि खरिद गरेपछि धान रोप्ने मेशिनमा किसानको आकर्षण बढ्न थालेको हो । सधैं परम्परागत रुपमा धानखेती गर्दै आएका चितवनका किसानले चैते, बर्खे धान लगाउँदा नौलो प्रविधिको प्रयोग गर्न थालेका छन् । चितवनमा परीक्षणको रूपमा मेशिनबाट रोपिएको धानको उत्पादकत्व बढेको छ । मेशिनबाट १० बिघामा रोपिएको चैते धानको उत्पादकत्व ५.५ मेट्रिक टनले बढेको परियोजना कार्यान्वयन ईकाई चितवनका प्रमुख मेघनाथ तिमल्सिनाले बताए ।
यो सँगै पहिलोपटक भित्रिएको एकैपटक ६ लाइन धान रोप्न सकिने आधुनिक मेसिनबाट केही किसानले धान रोप्न सफल भए । नौलो प्रविधि भएकाले किसानमा विभिन्न शंकारउपशंका पनि उब्जिए । तर सोंचे भन्दा राम्रो प्रतिफल हासिल भएपछि किसान अहिले दंग छन् ।
मेसिनबाट धान रोप्दा बाली व्यवस्थापनमा किसानलाई धेरै नै सहज भएकोछ । धानको गाँजको संख्यामा पनि उल्लेख्य बृद्धि भयो भने रोग किराको प्रकोपमा पनि कमी आयो । यसले गर्दा धान उत्पादनमा समेत केही वृद्धि भएको छ । जसले गर्दा अहिले चैते धानसँगै बर्खे धान मेशिनबाटै रोप्ने किसानको संख्या बढ्दो रहेको छ ।
कतिपयले रोप्नसमेत सुरु गरिसकेका छन् । चितवनमा कुल ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १९ हजार ८९३ हेक्टरमा वर्षे धान र ७ हजार ५२७.९ हेक्टरमा चेतै धान लगाउने गरिन्छ । किसानलाई प्रविधिको प्रयोग र उन्नत जातको बीउ प्रयोगमा प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधूनिकीकरण परियोजनाले सहयोग गरिरहेको छ ।