उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने तयारी हुदै !

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ ।

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’

ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty four = 92