काठमाडौँ । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले नेपाली सेनाले परि आएको खण्डमा देशको नेतृत्व लिन सक्षम रहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै कटवालले नेपाली जनताले चाहे भने नेपाली सेनाले देशको नेतृत्व लिन सक्ने बताएका हुन्।
कटवालले भने, ‘पर्यो भने नेपाली सेनाले शासन गर्न सक्दैन भनेर म भन्दिन। बाटोबाट टिपेर मन्त्री बनाएकाहरुले शासन चलाइरहेका स्थितिमा २०० वर्ष देखि ४०० वर्ष इतिहास भएको नेपाली सेनाले शासन गर्न नसक्ने भन्ने हुँदैन।
हर तरहले नेतृत्व लिन सेना सक्षम छ । तर नेपाली सेनाले आफूले लिएको कदमको परिणाम हेर्छ।’
कटवालले भोलिको दिनमा त्यस्तो स्थिति आइहालेपनि छिमेकी राष्ट्र र अन्तराष्ट्रिय समर्थन मिल्नु पर्ने बताए। उनले भने, ‘भोलिको दिनमा नेपाली जनताले त्यो आकांक्षा राखे धेरै कुरा मिलाएर सेनाले कदम उठाउने छ। धेरै सोच्नु पर्ने हुन्छ।
अहिलेको दुनियामा विदेशी, छिमेकीहरुको भूमिका रहन्छ। अमेरिका त अन्तराष्ट्रिय समुदायसँग सल्लाह नगरी अघि बढ्न सक्दैन हाम्रो जस्तो मुलुकको के कुरा ?’