
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।
बैठकको नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले शुरुदेखि नै विरोध गर्दै आउनुभएको छ । बैठकमा नेता नेपालसहित कारबाही गरिएका ११ जना बाहेक अरुलाई बोलाइए पनि उनीहरु बैठकमा नगएका हुन् ।
सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्युँताइदिएपछि साविक एमालेका सबै कमिटी ब्युँतनुपर्ने नेपाल पक्षको अडान लत्याउँदै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित सबै कमिटी भंग गर्नुभएको थियो ।
त्यसको बदलामा नेपाल पक्षलाई सरिक नै नगराई दशौं महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेमा ठूलो विवाद रहेको छ । अध्यक्ष ओलीले गत २८ फागुनमा नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको थियो ।
नेपाल पक्षले यस कमिटीलाई नमान्ने बताइरहेकै बेला सर्वोच्च अदालतले पनि आयोजक कमिटीलाई केन्द्रीय कमिटीको हैसियत नदिएपछि यसै बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी यसै कमिटीलाई केन्द्रीय कमिटीका रुपमा ब्युँताउने तयारी गरिएको छ ।
फुटको डिलमा पुगेको एमाले एकता जोगाउन पार्टीलाई २०७५ जेठ २ को अवस्था लगिनुपर्ने र उक्त समयको कमिटीहरुलाई मान्यता दिनुपर्ने माग नेपाल पक्षको रहेको छ ।
यही बैठकले ब्युँताउने केन्द्रीय कमिटीको बैठक भने शुक्रबारलाई बोलाइएको छ । नेताहरुका अनुसार उक्त बैठकमा नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतमा सहभागि गराइने छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी जेठ २ मा फर्किने निर्णय गरेको थियो ।
यद्यपि, उक्त बैठकमा नेपाल पक्ष सहभागि हुन्छ वा हुन्न भन्ने अझै निश्चित भने छैन ।