नेपाली कम्युनिस्ट आन्दोलन ‘रूढिवाद’को चपेटामा पर्‍यो: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको अहिलेको आवश्यकता रुढिवादविरुद्ध विद्रोह भएको बताएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘समाजवादी क्रान्ति: अवसर र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक ध्रुवीकरणबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी रूढिवादविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका हुन्।

एमाले र माओवादी मार्क्सवादलाई जीवितरुपमा विकशित गर्ने, परिमार्जन गर्ने र क्रान्तिलाई निरन्तर अगाडि बढाउने, सर्वहारा वर्ग र श्रमजीवी वर्गको जीवनमा आमूल परिवर्तन ल्याउने साधन भएनन्। केही नाराहरू चाहिँ दोहोर्‍याइ राख्ने र त्यसैको आधारमा चाहिँ आफ्नो जीविका चलाउने जस्ता रूढिवादी संस्था भए,’ प्रचण्डले भने, ‘एमाले एउटा रूढिवाद हो। माओवादी अर्को रूढिवाद बन्दैछ भन्ने लाग्छ मलाई।’

उनले अघि थपे, ‘मदन भण्डारी भनेपछि अरू भन्न नपर्ने, पढ्न नि नपर्ने, लेखन नि नपर्ने, बहस गर्न नि नपर्ने। अब हामी कहाँ अलि अलि प्रचण्ड भने पछि धेरै चिज हुन्छ भन्या जस्तो प्रवृत्ति छ। त्यो पनि मलाई सही प्रवृत्ति हो भन्ने नै लाग्दैन।

या माओवाद वा माओवादी भनिदिएपछि भनेपछि पुग्यो। पहिचान भयो त्यो। र हिजोको इतिहासको व्याज खानेतिर लाग्ने, त्यसैलाई मन्त्र बनाएर, घोटेर, सिद्धान्त बनाएर भोट माग्ने प्रवृत्ति बढ्यो। यो मार्क्सवाद होइन।

यो रूढिवाद हो। २१ औं शताब्दीको जनवाद या माओवाद या प्रचण्ड भनेर आफ्नो जीविका चलाउने, चुनाव जित्ने, त्यो सही होरहोइन समालोचनात्मक दृष्टिले हेर्नुको सट्टा त्यही जपेर बस्ने, यो त ठ्याक्कै त्यस्तै भयो नि वौद्धभिक्षु रहेसम्म घण्टी बजाउने हो, घण्टी बजाछ हिँड्या छ।’

प्रचण्डले नेपालका सबै कम्युनिस्ट शक्तिहरू रूढिवादी हुँदै गएको बताए। रूढिवाद परिवर्तनको बाधक भएकोले त्यसविरुद्ध संघर्ष अनिवार्य भएको उनको भनाई छ। प्रचण्डले भने, ‘कतिपयले रूढिवाद अलिकति राम्रो हो कि भन्ने पनि गर्छन्। त्यस्तो होइन। रूढिवाद बढो खतरनाक चिज हो। त्यसले विकाशलाई, गतिलाई, सिर्जनालाई, समृद्धिलाई सबै चिजलाई रोक्छ। त्यस कारण त्यसका विरुद्ध संघर्ष अनिवार्य छ।’

पछिल्लो समय केपी ओलीमार्फत कम्युनिस्ट आन्दोलनमा दलाल पूँजिवाद हाबी भएको प्रचण्डको भनाई छ। राष्ट्र लोकतन्त्रको निम्ति ओली प्रवृत्ति भयानक बन्ने अवस्था आएपछि आफूहरूले त्यसविरुद्ध विद्रोह गरेको उनको स्पष्टोक्ति छ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा जब केपी ओलीमा दलाल पूँजिवादको अगाडि आत्मसमर्पण, नोकरशाही र नेपालको भू(राजनीतिमा विदेशी प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्ने प्रवृत्ति देखियो र आफ्नो मित्रहरूलाई दुस्मन देख्ने, निषेध गर्ने, जाल झेल, सड्यन्त्र यी सबै चिजको संकेन्द्रण उनमा देखिएपछि हामीले यो प्रवृत्तिको विरुद्ध संघर्ष गर्नुपर्छ भनेर लागेका हौं।’

उनले केपी ओलीले अघि सारेको आर्थिक दृष्टिकोणमा कहीँ पनि समाजवाद नदेखिएको बताए। समाजवादका लागि अहिलेको देखिएको पूँजिवादी चरित्र बाधक बन्ने भएकोले एमाले र माओवाद भत्काएर नयाँ समाजवादी क्रान्ति अघि बढाउनु पर्ने विचार अघि सारे। उनले अहिलेको संसदीय रूढिवादले कहीँ पनि नपुर्‍याउने भएकोले यसमा परिवर्तनको आवश्यकता पनि प्रचण्डले औँल्याए। उनले कम्युनिस्ट आन्दोलन अघि बढाउन दुनियाँ बल्नेतिर जान पुरानो संस्कृति र पद्धति भत्काउने र नयाँ बनाउने तिर लाग्नु पर्ने बताए। त्यस दिशामा युवाहरू लाग्न हिच्किचाउन नहुने पनि उनको भनाई छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × 1 =