काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका कम्तीमा ३३ सांसदले विश्वासको मत दिने दाबी गरेका छन्।
सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकमा वरिष्ठ नेता नेपालले अदालतमा हस्ताक्षर बुझाउने २३ जना सांसद मध्ये केहीले साथ छाडे पनि यो संख्या बढाएर ३३ पुर्याउने आश्वासन दिएका हुन्।
ओली समूहमा रहेका १० सांसदहरु कित्ता फेरेर आफ्नो पक्षमा उभिने दाबी नेता नेपालको छ।
‘भीम रावलसहितका केही सांसदको भर छैन। तर तपाईँहरु ढुक्क हुनुहोस् कि विश्वासको मत लिँदासम्म म एमालेका १० जना सांसद थप्छु’ बैठकमा माधव नेपालले भनेको श्रोतले बतायो।
शनिबार राति बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसहित कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।
बैठकको स्थान भने गोप्य राखिएको छ।
आज अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै छन्। विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएका हुन्।
अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन्।
देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए भने सर्वोच्च अदालतमा दायर भएको रिटमा १४६ जना सांसदले हस्ताक्षर बुझाएका थिए।
गएको असार २८ गते सर्वोच्चको आदेशबाट संसद पुनःस्थापना भइ सोही आदेश अनुसार देउवाले असार २९ गते मंगलबार प्रधानमन्त्रीको शपथ लिएका थिए।
संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ।
एमालेको माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१, माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमोर्चाका १ गरी १२२ जना सांसदको साथ प्रष्ट छ। त्यसमा जसपाको उपेन्द्र यादव समूहमा ६ जना सांसद थपिएको दाबी गरिएको छ।
यसो भएपछि देउवाको समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदको समर्थन जुट्छ। अपुग संख्या माधव समूहले पूर्ति गर्ने पक्का भएपछि देउवाले आजै विश्वासको मत लिने निर्णय लिएको श्रोतले जनाएको छ।
धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वोच्चले गरिसकेको छ। मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वोच्चको फैसलामा उल्लेख छ।
आज ४ बजे बस्ने पहिलो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने छ। त्यसपछि दलका तर्फबाट नेताहरुले बोल्न चाहेमा समय दिने तयारी सभामुखले गरेका छन्।
त्यसपछि पहिलो बैठक सकिने र लगत्तै दोस्रो बैठक सुरु हुने छ। दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने छन्।
विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ।
विश्वासको मत नपाएमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ। यदि विश्वासको मत नजिते देउवा नेतृत्वको चुनावी सरकार पाँच सदस्यीय मात्रै हुने छ। किनभने चुनावी सरकारले मन्त्रीमण्डल बिस्तार गर्न नपाउने संवैधानिक व्यवस्था छ।