काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्विकृत गरेका छैनन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेताले रावललाई तत्काल सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । रावलनिकट स्रोतका अनुसार रावलले भोलि नै राजीनामा फिर्ता लिने तयारी गरेका छन् । पार्टीभित्रको विवादमा रावल नेता नेपालनिकट मानिन्छन् ।
तर, पछिल्लो समय उनी कार्यदलको संयोजकमा रुपमा काम गर्दा र १० बुँदे सहमति गरेपछि अध्यक्ष ओलीसँग नजिक भएको चर्चा पनि चलेको छ । तर, रावलले भने यसमा कुनै सत्यता नभएको स्पष्ट पार्दै आएका छन् ।
हिजोमात्रै नेता नेपालले रावललाई उनकै निवासमा पुगेर भेटेर दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । नेपालसँगको भेटमा रावलले यसबारेमा कुनै प्रतिक्रिया नदिएको बताईएको छ ।