काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् ।
मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् ।
त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए ।
‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लोकान्तरसँग भने ।
प्रचण्डले आज केही प्रदेश प्रमुखहरू हेरफेर हुने र भोलि मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बैठकलाई जानकारी गराएका थिए ।
स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए ।
माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सरकारमा सहभागी हुने सम्भावनाबारे अनविज्ञता प्रकट गरे ।
‘प्रचण्डले कहाँ के भन्नुभयो थाहा भएन । सरकारमा सहभागी हुनेबारे हामीले कुनै निर्णय गरेका छैनौं,’ नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
सोमवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सम्मानजनक ढंगले पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
माधव नेपाल पक्षका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका सांसदहरूले भने सरकारमा सहभागी हुनुपर्ने धारणा राख्दै आएका छन् ।