काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् । सामान्य वर्षा हुँदासमेत उपत्यकाका सडकमा ढल पसेर डुबान हुन थालेको छ ।
जसका कारण घण्टौं ट्राफिक जाम र दुर्घटना निम्तने खतरा बढेको छ । सडक नियमित मर्मत सम्भार नहुनु, ढल व्यवस्थापन समयमै नहुनु, खानेपानी तथा विद्युतका लागि भत्काइएका सडक नबनाउँदा काठमाडौं उपत्यका सडकमा समस्या देखिएको हो ।
अघिल्लो र यस वर्ष निषेधाज्ञा अवधिमा सडक विभागले चिटिक्क पारेका सडकमा वर्षा सुरु भएसँगै खाल्डाखुल्डी देखिन थालेका छन् । मेलम्ची पानी लिकेजका कारण पनि खाल्डाखुल्डी बढ्न पुगेको सडक डिजिजन कार्यालय काठमाडौंले जनाएको छ ।
उपत्यकाभित्रका सडक मर्मत सम्भार तथा निर्माण दायित्व सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकाका, ललिततपुर महानगरपालिका, भक्तपुर नगरपालिकालागयतको हो ।
आफ्नो जिम्मेवारीभित्रको सडक मर्मत सम्भार गर्न यी निकायको उदासिनताका साथै समन्वय अभाव हुँदै आएको छ । कतिपयमा एकअर्का देखाएर जिम्मेवारीबाट पन्छिने कामसमेत हुँदै आएको छ । सहरभित्रका आठ मिटरभन्दा साना सडक महानगरपालिकाले र नदी करिडोरमा सडक एकीकृत बाग्मती सभ्यता विकास समितिले हेर्ने गर्छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०ले मेलम्ची पाइप बिछ्याउन खनिएका सडक मर्मत सम्भार हुन सकेको छैन ।
विद्युत तार भूमिगत गर्न काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खन्ने काम हुँदै आए पनि समयमै सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपाली खाल्डाखुल्डी परेको र हिलाम्मे सडक विभागको कार्यक्षेत्रबाहिरका रहेको बताउँछन् ।
विद्युत प्राधिकरणले तार भूमिगत गर्नेक्रममा कार्य सम्पन्न नभएको र हस्तान्तरण नगरेका कारण मर्मत नसकिएको गंगालाल बूढानीलकण्ठ गोल्फुटार धुम्बाराहीबाहेक काठमाडौं सडक डिभिजनको सडक सामान्य अवस्थामा रहेको उनले बताए । पछिल्लो समय काठमाडौं त्रिपुरेश्वर, कालिमाटीलगायतका सडकखण्ड खाल्डाखुल्डी परेका छन् ।
कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा बाक्लो रूपमा खाल्डाखुल्डी छन् ।
थापाथलीस्थित प्रसूति गृहअगाडि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडकखण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको पाइएको छ ।
चाबहिल–बौद्ध– जोरपाटी–साँखु खण्डको अवस्था वर्षौंदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्छ । भक्तपुर भत्केपाटी– नगरकोट सडकखण्डअन्तर्गत गडगडे तथा पेप्सीकोला– सल्लाघारी सडक वर्षौंदेखि पिच हुन सकेको छैन । ललितपुर ढोलाहिटी–सुनाकोठी–चापागाउँ– प्याङगाउँ–लेले–तिलेश्वर सुनाकोठी खण्डको अवस्था उस्तै छ ।
काठमाडौंका खोला करिडोरका सडक अवस्था पनि दयनीय छन् । विभिन्न नाका जोड्ने सडकको अवस्था झनै खराब छ । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायत नाकाका सडक राम्रो छैन ।