काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएको छ ।पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका हुन् ।
नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना अहिलेका लागि टरेकाले अब मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएका हुन् ।
व्यक्तिगत रुपमा नेपाल समूह सरकारमा सहभागी हुने अवस्था रहने र संस्थागत रुपमा पनि अहिले वातावरण नबनेकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउँदै प्रचण्डले एमालेको एकता नै आफूहरुले पनि चाहेको बताए ।
पछिल्लो समय पटक पटक माधवकुमार नेपाललाई भेटेर छलफल गर्दै आएका प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना नरहेको बैठकलाई जानकारी गराएका हुन् ।
त्यस्तै माओवादीले सरकारमा सहभागी हुने नेताहरूको नामबारे सोमबार बस्ने बैठक टुङ्गो लगाउने भएको छ ।