केन्द्रीय समिति बैठकमा माधव नेपालको सम्बोधन: ओलीसँग मिसिनु राजनीतिक आ-त्म-ह-त्या

काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आ-त्म-ह-त्या सरह हुने बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे ।

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आ-त्म-ह-त्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ उनले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे ।

‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए ।

‘जिल्लामा एकपक्षीय अधिवेशन अघि बढाउने भन्ने कुराले एकतामा कति असर पुग्छ रु यसबारे साथीहरु जानकार नै हुनुहुन्छ होला । महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुन्छ’, नेपालको भनाइ थियो ।

बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे भीम रावलले ब्रिफिङ गरेका थिए । अहिले बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 × ten =