चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन: अर्थमन्त्री शर्मा

काठमान्डौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजश्व विभागसँगको ब्रिफिङमा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नभएको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भनेका हुन्।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन। एक पटक राम्रोसँग सोच्नुहोस् राजश्व संकलन बढाउन सकिने उपायहरु तपाई आफैँ फेला पार्नुहुनेछ’ उनले भने– ‘त्यसको लागि तपाईलाइ जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नैपर्छ।’

उहाँले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैँलाई कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन शर्माले निर्देशन दिए। ‘करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्छ’ शर्माले भने त्यस्तो वातावरण बनाउन मन्त्रालयका तर्फबाट के–के गरिदिनुपर्ने हो यो प्रस्ताव पनि तयार गर्नुहोस्।’

निरन्तरताको सुधारमा रमाएर बस्ने भन्दा गुणात्मक सुधारको खाँचो रहेको शर्माले बताए।

उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए। ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्यांकन ? यसको हिसाब किताब खोइ ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो’ उनले भने।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजश्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजश्व संकलनको निर्धारित लक्ष हेरफेर हुने सम्भावना रहेको बताए।

राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन सचिव मरासिनीले आग्रह गरे।

आन्तरिक राजश्व विभाग अन्तरगतका ८४ वटा कार्यालयहरु सबैले राजश्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमासचिव मरासिनीले जोड दिए।

प्रविधिको माध्यमबाट सवै राजश्व कार्यालयहरुलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन उनले निर्देशन दिए। आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७÷७८ को कुल राजश्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए।

गत वर्ष कुल राजश्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो। आर्थिक वर्ष २०७७÷७८ को लागि आन्तरिक राजश्व विभागलाई ४५० अर्बको लक्ष तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ। चालु आर्थिक वर्षको लागि ५२२ अर्ब राजश्व संकलनको लक्ष्य तोकिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × ten =