काठमान्डौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान सिघिङको दोश्रो इनिङ सुरु भएको छ । पहिलो कार्यकालमा कमाल गरेका कुलमानले खाने तलब र सेवासुविधाबारे चासो हुने गरेको छ । सरकारले चौतर्फी प्रसंसा बटुलेका घिसिङलाई ४ बर्षका लागि दोश्रो पटक प्राधिकरणको जिम्मा लगाएको हो ।
जनताको चर्को दवाव, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान र प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा उनलाई पुनः प्राधिकरणमा ल्याइएको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई नियुक्ती गर्न आनाकानी गरेको थियो ।
सरकारले ‘लौरो पनि नभाँचिने, सर्प पनि मर्ने’ गरी परिपक्क निर्णय गर्दै प्राधिकरणका निवर्तमान कायकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
उनको नियुक्तीसँग सेवा सुविधाका विषयमा पनि चर्चा हुन थालेको छ । कुलमानको तलव मासिक २ लाख २१ हजार रुपैयाँ छ । उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्राधिकरणले प्रोत्साहन भत्ता पनि दिन्छ ।
त्यसको अलवा ‘लिडरसिप एलाउन्स’मा थप दुई लाख गरेर घिसिङले मासिक ४ लाख २१ हजार बुझ्ने छन् । उनको सहयोगीको रुपमा एक जना शाखा अधिकृत र दुई जना सुब्बा सरहका कर्मचारीहरु रहने छन् । एउटा गाडी र ड्राइभर पनि उनले राख्न पाउने प्राधिकरण श्रोतको भनाई छ ।
सेवासुविधा भन्दा पनि उनको कामलाई धेरै नेपालीले मन पराएका छन् । दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई एकाएक अन्त्य गरेपछि उनको चौतर्फी प्रसंसा भएको थियो । लोडसेडिङ हटाएकै कारण कतिपयले कुलमानलाई भगवानको संज्ञा पनि दिदै आएका छन् ।
दोश्रो पटक नियुक्त भएका घिसिङले प्राधिकरणमा दोश्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । पदभार ग्रहण गर्नेक्रममा नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’
व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।
उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए । प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’