काठमान्डौं । मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो । व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । “उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,” तिमिल्सिनाले भने ।
गत असार १७ गते आएको बाढीले छाब्दीखोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ ।
बडिगाडका २७ घरमा बाढी पस्यो
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।
गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ ।
खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घट,ना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।