चितवन । अब भरतपुर महानगरमा घरको नक्सा पास गर्दा कागजी झन्झट व्यहोर्नु नपर्ने भएको छ । महानगरमा निमार्ण हुने घरको नक्सा पास अब सफ्टवेयरबाट हुने भएको छ ।
नक्सा पासका लागि लाइन बस्ने झन्झट भएको गुनासो आएपछि महानगरले यो सेवा सुरुवात गरेको हो । नागरिकले घरैमा बसेर नक्सा पास गर्न सक्ने भएका छन् । शुक्रबारबाट भरतपुरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात भएको छ ।
महानगर प्रमुख रेनु दाहालले उक्त सेवाको सुरुवात गरेकी हुन् । भरतपुर महानगरपालिका ९ की केसीको घर डिजिटल प्रणालीबाट नक्सा पास भएको छ । सुष्मा केसीलाई मेयर दाहालले नक्सा पासको अनुमतिपत्र दिएकी हुन्।
दाहालले महानगरलाई कागजविहीन बनाउने नीतिअनुसार काम गरिएको बताइन् । ‘हामीले महानगरलाई स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि त्यसैअनुसार यो सेवा संचालन गरिएको हो,’ उनले भनिन्, ुसेवाग्राहीले झन्झट र दुस्ख पाएको गुनासो आइरहन्थ्यो । अब त्यस्ता झन्झट व्यहोर्न नपर्ने भएको छ ।’
कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि घरको नक्सा अनलाइनबाट पास हुनेछ । नक्सा पासका लागि भूकम्प प्रतिरोधी प्रविधि समाज (एनसेट) ले प्राविधिक सहयोग गरेको छ।