काठमाडौं । जुम्लामा विभिन्न पार्टी परित्याग गरी एक सय ५० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
बुधबार लासी पाटनमा आयोजित एक कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादीमा प्रवेश गर्नेमा नेपाली काँग्रेस, नेकपा एमाले र मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरू रहेका छन्।
पार्टी प्रवेश गर्नेहरूलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले स्वागत गरेका थिए। मुख्यमन्त्री शाहीले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्तअनुसार संगठन निर्माण गर्न आग्रह गरेका छन्। उनले भने, ‘गरिब, दुखी, निमुखाहरूको पार्टी माओवादी केन्द्र हो।’
संगठन बलियो भए भने पार्टी पनि बलियो हुने भएकोले वडा स्तरमा संगठन निर्माण गर्ने नवप्रवेशीहरुको काँधमा आएको उनले बताए। जनमुखी काम गर्ने सबै कार्यकर्ता को जिम्मेवारी भएकोले पार्टीको नित नियम र मार्गदर्शन पालन गर्न आम पार्टी कार्यकर्ता काम भएको मुख्यमन्त्री शाहीले बताए।
मुख्यमन्त्री शाहीले भने, ‘युवाको रोजगारीका लागी कर्णाली प्रदेश सरकारले प्रदेश भरका स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम लागु गरेको छ।’