काठमाडौँ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति पुर्याएको छ । नदी आसपासका दर्जनौँ सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।
काठमाडौंको टंकेश्वर क्षेत्रमा सोमबार बिहान पसेको बाढीले फलफूलमा क्षति पुर्याएपछि जोगाउन प्रयासमा व्यवसायी ।
अस्थायी टहरा र पालमुनि बसिरहेका श्रमिकहरुको बास प्रभावित भएको छ ।
काठमाडौंका मूलपानी, मनोहरा, थापाथली, बल्खु लगायत क्षेत्रमा डुबान भएको छ भने धोबीखोलामा पानीको सतह बढेर मैतीदेवी, अनामनगर क्षेत्र जलमग्न बनेको छ । भक्तपुरको मनोहरामा आएको बाढीले आसपासको सुकुम्बासी बस्ती डुबानमा परेको छ । त्यस्तै, ललितपुरको सानेपा, कालोपुल क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।
उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण तीन सय ८५ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठोरले जानकारी दिए । ‘रातिदेखि नै डुबान भयो ।
हामीलाई सहयोग माग्दै झन्डै डेढ सय कलहरु आए । प्रहरी रातिदेखि नै खटिएको छ,’ एसपी राठोरले भने, ‘अहिलेसम्म २ सय ३२ जनाको उद्धार भएको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।’ ललितपुरको कालोपुलबाट प्रहरीले १५ जना मजदुरको उद्धार गरेको छ ।
एसपी राठोरका अनुसार बिहान भएपछि अवस्था सामान्य बन्दै गएको छ । ‘खोलाछेउका बस्ती डुबानमा परेका छन् । अँध्यारोमा केही जोखिम थियो । तर, त्यहाँ पनि अब अवस्था सामान्य बन्दै छ,’ उनले भने ।