काठमाडौं । प्रहरी भन्नेबित्तिकै आममानिसको दिमागमा आउने दृष्य हो– सुगठित एवं तन्दुरुस्त शरीर र सपक्क मिलेको निलो बर्दी ।
तर नेपालको परिप्रेक्ष्यमा यस्ता कल्पना वास्तविकतामा पनि मिलिहाल्छ भन्ने छैन । तन्दुरुस्त रहनु पेशागत प्रकृति नै भएपनि प्रहरीका हाकिमहरू भुँडीबाल देखिनु नेपालमा आम विषय नै हो ।
प्रहरी हबल्दारदेखि माथिका हाकिममा यो समस्या बढी देखिन्छ । त्यस्ता प्रहरी कर्मचारीहरू झडप हुँदा दगुर्न नसक्ने, कुनै अपराधीलाई पच्छ्याउनु पर्दा भेट्न नसक्ने जस्ता गम्भीर समस्या आउने गर्छ ।
थोरै कुद्दा पनि स्वाँस्वाँ गरिरहेका देखिन्छन् ।
तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले भुँडी घटाउने अभियान नै चलाएका थिए । त्यसपछिका आईजीपीहरूले अभियान नै नचलाए पनि तन्दुरुस्त रहनलाई नै प्रोत्साहित गर्ने गरेका थिए ।
अनौपचारिक रूपमा मात्र अभियान चलेकाले कतिले भुँडी घटाए भन्ने यकिन तथ्याङ्क भने प्रहरीसँग नभएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।
‘प्रहरी तन्दुरुस्त देखिनु पेशाको नेचर हो । त्यो बेलामा अनौपचारिक रूपमा भनिएको थियो,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने ।
अहिले प्रहरीका अधिकांश हाकिमहरूको भुँडी सामान्य रहेको उनले दाबी गरे ।
को,रोना भाइ,रसको म,हा,मारीपछि स्वास्थ्यमा सचेत रहनुपर्ने कुराले भुँडी घटाउने कुरामा पनि टेवा मिलेको प्रवक्ता कुँवरको भनाइ छ ।
‘अहिले त्यही १५ प्रतिशत जति प्रहरीको भुँडी ठूलो होला, अरू त तन्दुरुस्त नै छन्,’ एसएसपी कुँवरले भने, ‘हाकिमहरूको त अहिले ठूलो भुँडी छैन ।’
जिल्लाका अधिकांश प्रमुखहरूले अहिले शारीरिक तन्दुरुस्तीलाई प्राथामिकता दिएर काम गरिरहका छन् ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक र मानसिकरूपमा पनि स्वास्थ रहनका लागि भन्दै बिहान–बिहान कर्मचारीलाई व्यायाम गराउने र दगुराउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्की बिहान ५ बजेदेखि साढे ६ बजेसम्म आफू अघिअघि लागेर कार्यालयका अन्य कर्मचारीहरूसँगै दौडिन्छन् ।
उनले जिल्ला प्रहरी कार्यालय बर्दियाको नेतृत्व सम्हालेको ८ महिना पुग्न लागेको छ । १०र१२ किलोमिटर दगुरेर कार्यालय फर्केपछि उनीहरूले शारीरिक तन्दुरुस्तीको अभ्यास पनि गर्ने गरेका छन् ।
तर पहिला त्यस्तो अवस्था थिएन । तन्दुरुस्त रहनुपर्ने प्रहरी कर्मचारीहरूको भुँडी पुक्क उठेको थियो । उनले त्यसलाई घटाउन तथा शारीरिक र मानिसक रूपमा तन्दुरुस्त राख्नका लागि व्यायामको शुरूआत गरेका थिए ।
‘शारीरिक रूपमा तन्दुरुस्त भएपछि उनीहरूमा मानिसक र शारीरिक रूपमा स्फुर्ती देखिएको छ भने काममा पनि प्रभावकारिता आएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने, ‘जसले गर्दा आम मानिस ले हेर्ने दृष्टिकोणमा पनि फरक परेको पाएको छु ।’
यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले पनि प्रहरीको भुँडी घटाउने अभियान नै चलाए ।
उनले पनि दैनिक साढे १ घण्टाभन्दा धेरै व्यायामका साथै मातहत कर्मचारीलाई दगुराउँछन् ।
‘बिहान नियमित रूपमा मसँगै कर्मचारीहरूलाई पनि कुदाउने गरेको छु, जसले गर्दा कार्यसम्पादन र मानिसक रूपमा पनि राम्रो भएको छ,’ एसपी काफ्लेले लोकान्तरसँग भने, ‘अहिले सबै प्रहरी कर्मचारीहरू नियमित अभ्यास गर्छन्, उनीहरूको तौलमा पनि कमी आएको छ ।’
यो खबर लोकान्तर डटकममा छ ।