एमसीसी पारित गर्न ओलीले पटक–पटक दबाब दिएका थिए, मैले मानिन: पूर्वसभामुख महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको खुलासा गरेका छन् ।

आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको महराले बताएका छन् ।

‘म त्यतिबेला सभामुख थिएँ र प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटकसम्म यसलाई पास गरौं भन्नुभयो । त्यो मैले नमानेकै हो । उहाँले त्यस्तो प्रेसर गर्नुहुँदैनथ्यो । किन गर्नुभयो, यो उहाँको विषय हो,’ महराले भने ।

ओलीले आफूलाई तीनपटक एमसीसी सम्झौता पारित गर्न दबाब दिएको बताउँदै महराले थपे ‘त्यतिखेर नेकपाका दुइटा अध्यक्ष हुनुहुन्थ्यो । उहाँले अर्का अध्यक्षसँग सल्लाह गर्नुभएन । मैले भन्या मान भन्नुभयो ।

यसमा फेरि अन्तर्राष्ट्रिय सन्दर्भ पनि जोडिएको छ, सामान्य छैन । लगत्तै केही समयपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुँदैथ्यो । भ्रमणपछि पुनर्विचार गरौँला भनेकै थिएँ मैले । ओलीले त्यो पनि मान्नुभएन । त्यसकारण यो विषय उहाँको राजनीतिक सुझबुझमा भन्दा पनि अलिकति इगो थियो । त्यो मैले नमानेकै हो ।’

एमसीसी सम्झौता संसद्बाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा चर्को बहस सुरु भएको बेलामा पूर्वसभामुख महराले त्यतिबेला आफूलाई दबाब दिए पनि अहिले यो पारित गर्नुहुँदैन भन्ने धारणा एमालेको आइरहँदा आफूलाई खुसी लागेको जनाएका छन् । राजधानी दैनिकमा खबर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = four