जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने !

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरूलाई भेटघाट गरिसकेकी छन् ।

नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।

उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसद्बाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरूलाई भनेकी छन् । एमसीसीको विषयमा संसद्बाट अनुमोदन नभए पनि धेरै काम भइसकेकाले अब ढिला नगर्न राजनीतिक दलका नेताहरूलाई सन्देश दिइसकेकी छन् । एमसीसीमा हस्ताक्षर भई नेपालमा पूर्वतयारीका धेरै काम भइसकेकाले यो विषय अहिले जटिल बनेको छ ।

एमसीसीको विषयमा देखिएको अस्पष्टताको विषयमा नेपालले सोधेको प्रश्नको समेत उपाध्यक्ष सुमारले जवाफ दिइसकेकी छन् । केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा २०७६ सालमै एमसीसी संसद्मा प्रस्ताव दर्ता भए पनि सभामुखले अगाडि नबढाउँदा रोकिएको छ ।

यो प्रक्रियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालपक्षले साथ नदिँदा एमसीसी संसद्मा अगाडि बढ्न सकेको थिएन । त्यतिखेर पेस भएको एमसीसी प्रस्ताव अहिले पनि संसद्मै रहेको छ । तर, अनुमोदनको विषयमा राजनीतिक दलहरूबीच मतभेदका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई विद्युत् प्रसारण लाइन र सडक सञ्जालका लागि ५० अर्ब रुपैयाँ नेपाललाई अनुदान दिन लागेको हो । अमेरिकाको सो परियोजनाको विषयमा सैन्य रणनीतिको विषय जोडेर चर्चा भए पनि एमसीसी उपाध्यक्ष फातिमाले सैन्य रणनीतिमा नपर्ने स्पष्ट पारिसकेकी छन् ।

एमसीसी उपाध्यक्ष फातिमाको टोलीलाई नेकपा माओवादी केन्द्रले सबै राजनीतिक दलहरूबीच सहमति गराएर अगाडि बढाउनुपर्ने भने पनि सत्तारूढ दलका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले अनुमोदन हुने आश्वासन दिइसकेका छन् ।

माओवादीले एमसीसीमा केही कुरा संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने अडान लिए पनि एमसीसी उपाध्यक्षले संशोधन हुन नसक्ने जवाफ दिइसकेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two ÷ fourteen =