काठमाडौँ । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको छ ।
माओवादीको हाल वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिका कमीटी छन् । यी कमिटीका सबै नेतृत्व अब चुनिएर आउनुपर्ने गरी कार्यविधि बनेको हो ।
नयाँ कार्यविधिअनुसार अब माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।
निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।
माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुनले केन्द्रीय निर्वाचन समितिको भर्चुअल बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा पनि गरे ।
विचार आधारित सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्ने उनको दाबी छ ।