काठमान्डौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाको सो भनाइ बाहिर आएको हो ।
संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गरे ।
सो पदलाई न्याय गर्नुपर्छ भनेर दिलभित्रैबाट प्रण गरिरहेको उनको भनाइ छ ।
सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धतासमेत दोहोर्याए । उनले संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरे ।
सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउने र त्यसको कार्यान्वयन भएरनभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे ।