चितवन । भरतपुर महानगरपालिका १ देवघाटमा आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । देवघाटमा निर्माण हुने उक्त ९ कोठे भवनसहितको अस्पतालको आज (बिहीबार) महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन् ।
भवनको शिलान्यास गर्दै मेयर दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवा तर्फ विशेष ध्यान दिन आग्रह गरिन् ।
महानगरबासीलाई आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन हरेक वडामा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र बिस्तारमा जोड दिएको उनको भनाई थियो । आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउँदै उनले वडा न १४ शिवनगरमा ५० शैयाको आयुर्वेदिक अस्पपताल सञ्चालनमा ल्याईएको उनले बताईन् ।
उनले यस अस्पताललाई प्रदेश सरकारसंग समन्वय गरि १ सय शैंयामा स्तरबृद्धि गर्ने प्रकृया अघि बढाईएको समेत जानकारी दिईन् ।देवघाट आयुर्वेदिक औषधालय निर्माणको काम समयमै निर्माण सम्पन्न गर्न उनले आग्रह गरिन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावालम्बी तथा स्थानीयको उपचारमा टेवा पुग्ने बताए । भरतपुर महानगरले ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको अस्पताल निर्माण गर्न लागेको हो ।
भरतपुर महानगरपालिकाले शारदानगर र शिवनगरमा अस्पताल सञ्चालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।