काठमाडौँ । शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा होमेकी छन्।
‘हिमानी ट्रस्ट’ गठन गरेर सामाजिक काममा सक्रिय उनी पछिल्ला केही वर्षयता समाचारका विषय बनिरहन्छिन्।
राम्रो कामका कारण उनले प्रशंसा बटुलिरहँदा पति पारस भने अनेक विवादमा जोडिएर समाचारमा छाइरहन्छन्।
अनेक समस्या र विवादमा जोडिने यी पूर्वराज परिवारका जोडी शुक्रबार होटल सोल्टीको एउटा कार्यक्रममा एकसाथ देखिए।
‘हिमानी ट्रस्ट’ ले होटल सोल्टीमा दसैँ, तिहार तथा छठ पर्वका अवसरमा कला, संस्कृति, खेलकुद र साहित्य क्षेत्रमा योगदान गरेकालाई आयोजित शुककामना आदानप्रदान तथा चियापान कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी पनि एकसाथ देखिएका हुन्।
सधैँ अनौपचारिक पोशामा देखिने पारस शाह पनि यो कार्यक्रममा पाइन्ट सर्ट, कोट र ढाका टोपीमा सजिएर पुगेका थिए। उनीहरु तीनैजना केही बेर कार्यक्रमस्थलको मञ्चमा पनि एकसाथ देखिए।
कार्यक्रममा आएकाहरुलाई हिमानीसहित ट्रस्टका पदाधिकारी स्वागतमा जुटेका थिए। त्यहाँ पुगेका पारसले पनि केही आगन्तुकहरुसँग मुस्काउँदै कुरा गरे।
कार्यक्रममा पारस-हिमानी पुत्र हृदयन्द्र पनि सहभागी भए। उनी राष्ट्रिय पोशाक सजिएका थिए। कार्यक्रममा पूर्वरानी कोमल शाही सहभागी भएकी थिइनन्।
कार्यक्रममा एकसाथ देखिँदा ज्ञानेन्द्र र पारसले केही बेर कुरा गरे। तर पारस(हिमानीबीच भने संवाद हुन सकेन। कार्यक्रममा सहभागी ज्ञानेन्द्र र हिमानीसँग सेल्फी लिने प्रशंसकहरु प्रशस्त देखिए।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, अभिनेता भुवन केसी, शिव श्रेष्ठ पनि पुगेका थिए। त्यस्तै गायकहरु योगेश्वर अमात्य, जयनन्द लामासहित पनि त्यहाँ देखिए।