काठमाण्डौ : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारमा बसेको बैठकले कुनै पनि निर्णय नगरेको र पछिल्ला राजनीतिक अवस्थाबारे छलफल भएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।
बैठकले कसैलाई समर्थन गर्ने या कसैको विरु,द्धमा जाने निर्णय नगरेको उहाँले बताउनुभयो । मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता संविधान संशोधनको मस्यौदा बनाउनको लागि हिजो प्रधानमन्त्रीसँग कार्यदल बनाउने सहमति भएको जानकारी दिँदै ठाकुरले आफ्नो तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई सदस्य तोकिएको बताउनुभयो ।
उहाँले अहिले जसपा केपी शर्मा ओलीको विपक्षमा नरहेको पनि बताउनुभयो । त्यस्तै संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीबाट कार्यदल बनाउने निर्णय हुनु सकारात्मक कुरा भएको बताउनुभयो । बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्ष भने सहभागी थिएन ।