
काठमान्डौं : गुण्डा नाइकेका रुपमा परिचित गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आपत्ती जनाएका छन् ।
नेता बानियाँले बिहीबार एक विज्ञप्ति निकाल्दै कांग्रेसका युवा नेता भन्दै लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए ।
विज्ञप्तिमा नेता बानियाँले लामालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दाबी गरिएपनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दाबी गरेका छन् ।
नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएपछि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखेर अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै लामालाई बिनाशर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।
गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं. १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।