
पोखरा : यही शनिबार गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्नको लागि प्रदेश प्रमुखले दिएको चौबिस घण्टे अवधि सिद्धिनै आटेको थियो।
त्यतिबेलै सामाजिक सञ्जालमा हल्ला फैलियो, विश्वासको मत पाउन असफल मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि किर्ते कागजात सहित मुख्यमन्त्रीमा दाबी गर्न पुगे भनेर।
त्यस अघि शुक्रबार नै विपक्षी गठबन्धनले बहुमत सांसदहरुलाई श(शरीर उपस्थित गराएर मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई प्रस्तावित गरेको थियो।
केन्द्रमा जस्तै प्रदेशमा पनि प्रदेश सभा विघटन उन्मुख छ भन्ने हल्लापछि लेकसाइडको एक होटेलमा बसेका सम्पूर्ण विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय अघि आइपुगे।
आक्रोशित कांग्रेस र माओवादीका कार्यकर्ताहरुको टायर बाल्ने देखि नाराबाजी सुरु भइसकेको थियो। प्रहरीले प्रदेश प्रमुखको कार्यालय नजिक कसैलाई जानसम्म पनि दिई रहेको थिएन।
माथि व्याख्या गरिएको परिवेश हो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोको। सामाजिक सञ्जालमा अहिले एक प्रदेश सभा सांसदले प्रहरीलाई धम्काउदै गरेको भिडियो भाइरल भइरहेको छ। सांसदले धम्काए पनि प्रहरी इन्स्पेक्टर पछि हटेका छैनन् बरु आटँ भए कारबाही गरेर देखाउन हाँक दिइरहेका छन्।
प्रहरीलाई धम्काउने व्यक्ति हुन् नेपाली कांग्रेस तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य एवं कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ। स्याङ्गजाबाट प्रतिनिधित्व गर्ने उनलाई जबर्जस्त प्रतिवाद गर्ने प्रहरी इन्स्पेक्टर हुन् श्याम थापा मगर। प्रहरीको बैदाम बिटमा कार्यरत उनको अहिले सामाजिक सञ्जालमा खुलेर प्रशंसा भइरहेको छ।
भिडियोमा इन्स्पेक्टर थापासँग उनको चर्काचर्की परेको छ।
सांसद श्रेष्ठले ‘तपाईको हिसाब किताब हुन्छ’ भनेका छन्।
‘हुन्छ सर, म श्याम थापा मगर। बैदाममा कार्यरत छु है म सर,’ इन्स्पेक्टर थापा भन्छन्।
त्यसपछि केही टाढा पुगिसकेका श्रेष्ठ फर्केर आएर, ‘फुर्ती नछाटम,’ भन्दै झर्किन्छन्।
‘फुर्ति छाटेको होइन। हजुरले हिसाब किताब भन्नु भयो। त्यसैले नाम बताइदिएको। नाम श्याम थापा मगर,’ इन्स्पेक्टर थापा जवाफ फर्काउछन्।
प्रहरीको कर्तव्य र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने जो कोही भएपनि त्यो क्षम्य हुन् सक्दैन। यसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने माग धेरैले गरेका छन्।
र, सांसद जस्तो गरिमामय पदधारी व्यक्तिले एक प्रहरीलाई धम्काउनु आफैमा गम्भीर भएकोले यसमा सांसद श्रेष्ठले माफी माग्नु नै उचित देखिने किसिमका आशय सामाजिक सञ्जालमा देखिएको छ। मृदु भाषी कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस घटनालाई कसरी लिन्छन् त्यो हेर्न बाकी नै छन्। श्रेष्ठलाई पनि नरोत्तम वैद्यलाई जस्तै अनुसासनमा बस्न निर्देशन दिँदै माफी माग्न निर्देशन देलान् त ?