
काठमाडौं । गण्डकी प्रदेशमा विनाविभागीय मन्त्री दिपक मनाङेले तेस्रोपटक मन्त्री नियुक्त भएर सपथ ग्रहण अघि अहिलेको राजनीतिक नेतृत्व भन्दा पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह नै ठिक भएको बताएका छन्। मनाङेले पूर्व महाराजधीराज जति त्याग र नैतिकताको भावना अहिलेको राजनीतिक नेतृत्वसँग नरहेको बताएका हुन्।
नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका थिए। दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे।
जवाफमा मनाङेले भने, ‘यिनीहरु भन्दा त राजा नै ठिक रहेछ। नराम्रो परिस्थिति आउन सक्छ भनेर उसले पहिले नै छोडिदियो। सेना प्रयोग गर्न सक्थ्यो उसले। गरेन नि। भएको मान्छेहरुको दिमाग नै अर्कै हुन्छ। नहुनेहरुले हो प्रहरी, सेना प्रयोग गर्ने। अहिले सम्म प्रहरी मात्र प्रयोग गरेको छ। सेनालाई बाहिर निकाल्न त अझै बाँकी नै छ। केपी ओली त बेकुफ नै रहेछ।’
त्यसपछि मनाङेले प्रधानमन्त्री ओलीको पछि बुद्धि नभएकोहरु मात्र लाग्ने बताए। उनले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ। तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या। दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ।’
यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए। सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन्।