
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ । मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको विवरण फरकरफरक आइरहेका छन् ।
सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विवरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृ,त्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको तयारी भएको प्रजिअ पोखरेलले बताए ।
बाढीले मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको मन्त्री तामाङले जनाएका छन् ।
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।