
काठमाडौँ । मेलम्ची तथा इन्द्रावती नदीमा पानीको बहाव घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। शुक्रबार बेलुका केही समय नदीमा पानीको बहाव बढे पनि त्यसपछि घट्दो क्रममा रहेको र जोखिम केही कम भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन्।
पानी पर्ने क्रम रोकिएको तथा नदीमा बहाव पनि कम हुने क्रम जारी रहेकाले जोखिम केही कम भए पनि सतर्कता भने चाहिने उनले बताएका छन्।
बाढीबाट प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको प्रयास निरन्तर रहेको उनले जानकारी दिए। मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजारसहितका क्षेत्रमा जनधनको क्षति भएको छ। अहिलेसम्म कम्तीमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा २० जना बेपत्ता रहेका छन्।
मेलम्ची बजारका अधिकांश घरमा बाढीले क्षति गरेको छ भने स्थानीय बासिन्दा बिस्थापित भएका छन्। सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।
यस्तै भोटेकोशी नदीमा पनि अहिले जोखिमको अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। पानीको बहाव बढ्दा लिपिङ्ग खोलामाथिको पुलमा भने क्षति पुगेको छ।