
काठमान्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री प्राप्तिका लागि नभएर संविधानको रक्षाका लागि भएको बताएका छन् ।
गठबन्धनका तर्फबाट बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै प्रचण्डले ०४६ साल र ०६२–०६३ सालको आन्दोलन लोकतन्त्रवादी र वामपन्थीकै संयुक्त प्रयासले सफल भएको स्मरण गरे । उनले भने, ‘यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्नेबीचको लडाइँ हो ।’
अहिले केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो । राष्ट्रपतिले पनि प्रधानमन्त्रीको गलत कदमलाई साथ दिएर आफ्नो मान, सम्मान गुमाएको उनको दाबी थियो ।
मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई ‘सेटिङ’ भन्दै टिप्पणी गरिएको भन्दै अध्यक्ष दाहालले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको दाबी गरे ।
आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको बरु प्रधानमन्त्री ओलीले नै न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनको आरोप छ ।
अध्यक्ष दाहालले एमसिसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हितअनुकूल हुने गरी अघि बढाउने उनले बताए ।