
हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई सवारी साधन हस्तान्तरण गरेको छ ।
शुक्राबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले बागमती प्रदेश प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामालाई र मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखलाई १२ वटा गाडी र १६ वटा मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयले ३७ लाख ३६ हजार रुपैयाँ बराबरको मोटरसाइकल र ३ करोड ५३ लाख २७ हजार ९ सय ८८ रुपैयाँको गाडी गरी कुल ३ करोड ९० लाख ६३ हजार ९ सय ८८ रुपैयाँ बराबरको सवारी साधन खरिद गरी हस्तातरण गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी, बागमती प्रदेशभित्र रहेका विभिन्न जिल्ला तथा प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।