
काठमाडौं । प्रहरी चौकी पिस्कर, सिन्धुपाल्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेश कुमार साह जेठ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।
असई साहले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी जिल्लामा कोरोना भाइरसबाट बच्न तथा सजगता अपनाउन सर्वसाधारणमा सन्देशमुलक एवं सचेतनामुलक प्रचार प्रसार तथा निशेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।
बेवारिसे रूपमा फेला परेका पल्सर मोटरसाइकलहरु नियन्त्रणमा लिनुका साथै २०७७ साउन ३० गते अबिरल बर्षातको कारण जुगल गाउँपालिका-२, लिदिमा आएको पहिरोले गाउँ नै विस्थापित भई स्थान्तरण गरी सोहि गाउँपालिका-१ बाँसखर्कमा बसोबास गरिरहेका घर परिवारहरूलाई विभिन्न मितिमा नेपाल सरकार तथा विभिन्न संघ-संस्थाहरूद्वारा वितरण गरिएका राहत सामग्रीहरू सहज रूपमा वितरण गर्ने कार्यमा आवश्यक सहयोग र सुरक्षा प्रदान गरेका उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक हरिवोल केसिले जनाकारी दिए ।
प्रहरी निरीक्षक केसिका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।