सहकर्मीको खेतमा धान रोपेर सशस्त्र प्रहरीले मनायो दिवस !

काठमान्डौं । देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा पर्सामा सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटरले फरक तरिकाले धान दिवस मनाएको छ ।

१३ नम्बर हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार सुरेन्द्र ठाकुरको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको खेतमा धान रोपेर धान दिवस मनाएको हो ।

सहायक हवल्दार सुरेन्द्र सशस्त्र प्रहरीमा सवारी चालकको रुपमा काम गर्छन् । उनले मंगलबार असार १५ का दिन खेतमा धान रोप्नका लागि १२ जना खेताला खोजेका थिए । खेताला खोजिसकेपछि उनले धान रोप्न घर जानका लागि सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कासँग विदा मागे । तर, सशस्त्र प्रहरी उपरीक्षक खड्काले सुरेन्द्र बिदा होइन उनले खोजेको १२ जना खेताला समेत फिर्ता गर्न भने ।

जिल्ला कृषि ज्ञान केन्द्र, वीरगन्ज महानगरपालिका तथा पर्साका स्थानीय तहहरुले विभिन्न स्थानमा औपचारिकताका लागि धान दिवस मनाई रहँदा सशस्त्र प्रहरी उपरीक्षक खड्काले भने आफ्नै संगठनका प्रहरी कर्मचारीको खेतमा गएर धान पनि रोपिदिएर राष्ट्रिय धान दिवस मनाए । सशस्त्र प्रहरी उपरीक्षक आफ्ना फौजलाई नै लिएर सशस्त्र सहायक हवल्दार ठाकुरको खेतमा गएर करिब एक विगाह क्षेत्रफलमा धान धान रोपाई गरिदिए ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणमा कार्यरत विभिन्न दर्जाका सशस्त्र प्रहरीहरुलाई लिएर गएर ठाकुरको धान रोपाई गरी खेतालाको पैसा र खाजा समेत जोगाई दिएका छन् । असार १५ मा सरकारले धान दिवस मनाउने गरेको र धान दिवसमा आफ्ना सुरक्षाकर्मीहरुलाई पुर्नताजगी पनि हुने, धान दिवसको औपचारिकता पनि पूरा हुने तथा आफ्नो संगठनको कर्मचारीको समेत काम सकिने भएपछि सशस्त्र प्रहरीको टोली लिएर गएर धान रोपेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

आफ्नै हाकिमले खेतमा गएर धान रोपी दिँदा सुरेन्द्र मात्रै होईन उनका परिवारका सबैजान निकै खुशी भएका थिए । सशस्त्र प्रहरीको टोली खेतमा पुग्दा हेर्न आउने छरछिमेकीको पनि निकै भीड लागेको थियो । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म धान रोपेर सकिएपछि दही चिउरा खाएर सशस्त्र प्रहरीको टोली बिदा भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

63 − fifty nine =