काठमाडौं । आफूलाई सामाजिक अभियान्ता दाबी गर्दै आएकी ज्वाला भनिने टिका संग्रौलाविरुद्ध अनुसन्धान जारी छ । कुटपिट, जातीय विभेद र सरकारी कागजात किर्तेमा अनुसन्धानका लागि थप पाँचदिन म्याद थप गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार उनको नागरिकतासमेत फेला नपरेकाले खोज्ने काम भइरहेको बताए । उनीविरुद्ध दुईपटक जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट र तेस्रोपटक जिल्ला अदालतबाट ४ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ । अन्तिमपटक लिएको म्याद १८ गते सकिँदैछ ।
प्रहरीका अनुसार संग्रौलाको जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागजमा किर्ते गरेको पाइएको छ । उनले पाँचथरबाट नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ ।
एसएसपी सिंहले भने, “तीजवटै मुद्दामा अनुसन्धान भइरहेको छ । नागरिकता पनि हामी खोजीरहेका छौँ । उनीसँगै पक्राउ परेकाको कुटपिटमै म्याद थप भएको छ भने संग्रौलाको अन्य कसुरमा म्याद थप भएको छ ।”
संग्रौलालाई प्रहरीले ६ असारमा कुटपिटको अभियोगमा पक्राउ परेको थियो । खुश्बु घिमिरेसँग फेसबुकमा भएको आरोप–प्रत्यारोपपछि भएको कुटपिट प्रहरीसम्म पुगेको थियो । उनले महाराजगञ्जमा ड्युटीमा खटिएका प्रहरीमाथी रंगभेदी टिप्पणीसमेत गरेको उजुरी प्रहरीमा परेको थियो ।
संग्रौला सामाजिक सञ्जालमा उग्र टिप्पणी लेखेकै कारण चर्चामा रहदै आएकी थिइन् ।