कोरोना महामारीविरुद्धको लडाइँमा काठमाडौं पछि पर्‍यो : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौं- सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।

‘कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको छन् । त्यसैले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्न चाहन्छु,’ प्रवक्ता ज्ञवालीले भने, ‘१० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो रोग सामान्य हुँदै होइन । त्यस कारणले यसप्रतिको सतर्कता रत्तिभर पनि कमी गर्न हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।’

नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गरे । ‘काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको छ । तर कता-कता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाडौं अलि पछाडि परेको हो कि भन्ने देखिन्छ ।’

४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ थियो । सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

89 ÷ = eighty nine