काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रिय सम्मेलनसम्मका कार्यक्रमहरु आफ्ना मातहतका संगठनमा मंगलवार परिपत्र जारी गरेको छ ।
पौषमा हुने राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गरी माओवादी केन्द्रले भदौ महिनाभित्र भाद्र मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने परिपत्र जारी गरेको छ ।
सो पार्टीका अध्यक्ष प्रचण्डद्वारा जारी परिपत्रमा दशैं अगाडिसम्म सेल, टोल र वडाहरुका सम्मेलन सम्पन्न गर्ने निर्देशन गरिएको छ ।
हेर्नुहोस् राष्ट्रिय सम्मेलनसम्मका माओवादी केन्द्रका कार्यक्रमहरुको तालिकाः–
भाद्र मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने ।
आश्विन १० गते सेल र टोल भेला गरी कमिटी गठन र पुनर्गठन गर्ने ।
आश्विन २० वडा सम्मेलन सम्पन्न गर्ने ।
कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन सम्पन्न गर्ने ।
कार्तिक ७ गतेदेखि मंसिर १४ गतेसम्म संगठन सुदृढीकरण र जनपरिचालन अभियान सञ्चालन गर्ने ।
मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने ।
पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने ।