जुम्लामा एमाले शून्य, सिंगो पार्टी नै माओवादी र एकीकृत समाजवादीमा रूपान्तर

जुम्ला । नेकपा एमाले जुम्लाका पदाधिकारीसहित ५८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एमालेको मौजुदा ६१ सदस्यीय जिल्ला समिति सदस्य संख्यामा ५८ जनाले समाजवादी पार्टी रोजेका हुन्।

जुम्लामा आज गरिएको पत्रकार भेटघाट कार्यक्रममार्फत यस अघि नेकपा एमालेमा रहेका जिल्ला स्तरका नेताहरूले एमाले छोडी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको घोषणा गरेका छन्।

अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहित तीन जना बाहेक सिंगो कमिटीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी पत्रकार भेटघाट कार्यक्रमबाट गराइएको छ।

पत्रकार भेटघाटमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरू नेकपा एकीकृत समाजवादीको यात्रामा लाग्न बाध्य भएको बताए।

उनले हिजो एउटा प्रदेश पनि माधव नेपाल पक्षधरलाई मुख्यमन्त्री दिन नचाहने घमण्डले ओली आफै कमजोर भएको आरोप लगाए। नेकपा एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार भेटघाटमा ओली प्रवृत्ति राम्रो नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीमा जुम्लामा आफूहरू लागेको घोषणा गरिएको छ।

उपचारको क्रममा अध्यक्ष तीर्थबहादुर बुढा काठमाडौं रहेपनि पूर्ण समर्थन रहेको जनाइएको छ। पत्रकार भेटघाटमा नेकपा समाजवादीका नेता आदीप्रसाद न्यौपानेले नेकपा एमाले देशको ठूलो पार्टी हुँदा पनि केपी ओलीको दम्भले यो अवस्थामा आइपुग्न बाध्य पारिएको दोषारोपण गरे।

पत्रकार भेटघाटमा वाचन गरिएको प्रेस विज्ञप्ति अनुसार प्रदेशसभा सदस्य पदम रोकाया, नगरपालिकामा जितेका जुम्लाका सबै वडाध्यक्षहरूको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरूलाई यही भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ।

उक्त पार्टी भाद्र २३ गते एकीकृत समाजवादीको जिल्ला भेला गर्ने निर्णय गरेसँगै सबै अगुवा कार्यकर्ता भेलामा उपस्थित हुन अपिल गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + six =