सत्ता गठबन्धनका ३ विद्यार्थी संगठनले भने : एमसीसी अघि नबढाऊ

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका तीन दलका विद्यार्थी संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन सरकारलाई खबरदारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले एमसीसी परियोजना संसदबाट पारित नगर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ ।’

अमेरिकाले साम्राज्यवादी उद्देश्य पूरा गर्ने गरी एमसीसी परियोजना ल्याएको भन्दै तीन विद्यार्थी संगठनले एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्ने र असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्ने जिकिर गरेका छन् ।

‘जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

एमसीसी पारित गर्न नेपालको राजनीतिक शक्तिमाथि दबाब दिने र एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भइरहेको पनि विद्यार्थी संगठनहरुले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × three =