कमेडी च्याम्पियन सिजन–२ काे विजेता भरतमणि पौडेल

काठमाडौं । इलामका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्।

त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उनी रेडियो तमोरमा ‘टेन्सन(फ्री’ कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्।

कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।

यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। यसअघि ७ पटकसम्म ‘पर्फमर अफ द शो’ बनेका थिए। यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।

कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका थिए।

टप(३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले ‘पेन्टोमाइम’ अभिनय रोजे। उनको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो। अरूले यो जोखिमको सरहाना गरे पनि निर्णायक सन्तोष पन्तका लागि यो कमेडी नै भएन। उनले विक्कीको प्रयोग स्वीकारेनन्। बरू आलोचना गरे।

पन्तले भने, ‘हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई बुझ्दैन, मैले त बुझिनँ। फिलोसोफी त भयो तर तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो तरु यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै स्टाइल छ। यसलाई फलो गर।’

भरिलो आँखा लिएर विक्की बोले, ‘मलाई पेन्टोमाइम अभिनय गरेकामा कुनै पनि पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्नभन्दा पनि केही नयाँ गर्न आएको हुँ।’ धेरै दर्शकले निर्णायक पन्तको प्रतिक्रियामा आपत्ति जनाएपछि विक्कीको यो प्रस्तुति युट्युबमा केही दिनसम्म निरन्तर ट्रेन्डिङमा थियो।

यो विवादले विक्कीलाई फाइदा नै गर्‍यो। पेन्टोमाइमको प्रस्तुतिपछि धेरैले विक्कीको पक्षमा मत दिएर फाइनलमा पुर्‍याएका थिए। भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुन्।

उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। सिक्किमबाट कमेडी च्याम्पियनको सेटमा जित्नभन्दा पनि केही नयाँ गर्न आएको बताएका विक्कीले सिक्किम र नेपाल दुबैतिरका दर्शकको भोट पाए पनि उपाधि जित्न सकेनन्।

कमेडी च्याम्पियन नबने पनि विक्कीले धेरैको मन जितेर फर्केका छन्। देशको सीमा नाघेर आएका विक्की नेपाल र सिक्किमलाई जोड्ने प्रिय कलाकार बनिसकेका छन्। यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।

नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँडेका थिए, तर बन्नु रहेछ कमेडियन। कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन्।

अरूको देखेर सिक्न सक्ने उनले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरे। उनको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै गए। उनको क्षमता देखेरै दर्शकले पनि माया दिएर भोट गरे। टप-३ सम्म सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हसाए।

सामाजिक सन्दर्भका व्यंग्य जोडे। ‘नेपाली टिचर’ उनको सर्वाधिक मन पराइएको प्रस्तुति रह्यो। उनी दमदार प्रस्तुतिका आधारमा फाइनल आइपुगे पनि भोटका आधारमा उपाधि जित्न सकेनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =