देउवालाई प्रचण्ड- माधबकाे एकै स्वरमा जवाफ: ‘एमसीसी पास नगराैं’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए ।

भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको बताइन्छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् ।

ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ । हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + 1 =