प्रचण्डलाई सरकार दिनुभन्दा जनतालाई फैसला गर्ने जिम्मा दिनु राम्रो : ईश्वर पोखरेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आरोप लगाएका छन् । पार्टी अध्यक्ष भएर पनि गुटबन्दी गरेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई अवरोध गर्नेजस्ता गैर जिम्मेवार काम प्रचण्डबाट भएको पोखरेलको दावी छ । पार्टी अहिलेको जटिल मोडमा आइपुगेको भन्दै उनले प्रचण्डले सरकारबारे दुष्प्रचार गरेको आरोप लगाए ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘कमरेड प्रचण्डले आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गर्नुभयो, सरकारबारे दुष्प्रचार गर्नुभयो, पार्टीमा गुटबन्दी गर्नुभयो, पार्टी एकतालाई टुङ्गोमा पुर्याउन आफैँ अवरोधक हुनुभयो । उहाँको यस्तै गतिविधि अहिले उत्पन्न समस्याको प्रमुख जड हो ।’

ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको फैसला जनताको पक्षमा भएको उनको दाबी छ । ‘कसैलाई भाग पुगेन भनेर बहुमतको सरकार ढाल्नु जायज हो कि फैसला गर्ने जिम्मा जनतालाई दिनु जायज हो ?’ उनले प्रश्न गरे । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताए ।

ललितपुर क्षेत्र नं १ मा आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भने । “यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गराँै”, प्रचण्ड–नेपाल समूहतर्फ इङ्गित गर्दै उनले भने, “अन्तरविरोधको हलतिर लागौँ । हामी तपाईँहरुलाई अझै साथ दिन तयार छाँै । यदि हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानुबाहेक अन्य विकल्प छैन ।”

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रमभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिध्याउन खोजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए । उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिश गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।”

नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भने । अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको विवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा,मधुसूदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty one − = thirty three