कुलमानको कार्यकाल सकिएसँगै घण्टौं लाइन काटिनु फेरि लोडसेडिङ हुने त होइन ?

काठमाडौं, ७ असोज । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ?

लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण नै दिनु पर्‍यो । मर्मतका लागि लाइन काट्दा ग्राहकमा भ्रम पर्न गएको मन्त्रालयले बताएको छ ।

मन्त्री पुनको सचिवालयले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जामन्त्रीको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ र, सचिवालयको हटलाइन ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने जानकारी दिएको छ ।

उर्जा मन्त्रालय र विद्युत प्राधिकरण विद्युत आपूर्ति कटौती बढेको मान्न तयार छैनन् । उपभोक्ताहरु भने झ्याप्प-झ्याप्प लाइन जाने क्रम बढेको गुनासो गरिरहेका छन् । काठमाडौं, मनमैजुका श्याम क्षेत्री हिजोआज पटक-पटक लाइन काटिन थालेको बताउँछन् । ललितपुर, टिकाथलीका सनम वैद्यले आइतबार साँझ गएको लाइन मध्यरातसम्म नआएको बताउँदै सोधे, ‘नो लाइटमा फोन नै उठेन । प्राधिकरणमा हाकिम नहुँदैमा विजुली काटिनुपर्ने कारण के हो ?’हेटौंडाकी दिलु घर्तीले फेसबुकमा आक्रोश पोख्दै लेखेकी छिन्, ‘हिजोआज कति जान थालेको हो यो लाइन पनि ! अब विद्युत प्राधिकरण घेराउ गर्न जानुपर्छ जस्तो छ ।’

त्यस्तै, भरतपुरका प्रेम श्रेष्ठले लेखेका छन्- भरतपुर महानगरमा आज बिहान ७ः३० बजे गएको विद्युत अहिले १२ः०० बजेसम्म आएको छैन । फेरि लोडसेडिङको भारम्भ भएको कि कतै बिग्रेर हो ?’यस्ता गुनासा अहिले समाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन् । धेरैले लोडसेडिङ हो कि भन्ने प्रश्न उठाएका छन् । भदौ २८ गते कुलमान घिसिङको कार्यकाल सकिएसँगै लाइन जाने क्रम बढेकाले पनि आंशकाहरु व्यक्त भएका छन् । घिसिङलाई औपचारिक विदाइ गरेको भदौ ३१ गते विद्युत वितरण प्रणाली सबभन्दा धेरै अवरुद्व भएको थियो ।

६३० मेगावाट आवर इनर्जी विद्युत आपूर्तिमा अवरोध भएको त्यो दिन २४ हजार ६१२ मेगावाट आवर माग थियो । खपत भने २३ हजार ९८२ मेगावाट आवर मात्र भयो । ६ लाख ३० हजार युनिट बिजुली माग भएर पनि वितरण हुन सकेन । अविरल वर्षा, बाढीपहिरो र हावाहुरीका कारण वितरण लाइनमा विभिन्न अवरोध हुँदा मागअनुसार बिजुली पुग्दैन । तर, पछिल्ला दिनमा त्यतिधेरै माैसमी समस्या छैनन् । तर, भदौ ३१ पछिका दिनमा पनि विभिन्न स्थानमा प्राविधिक कारणले विद्युत कटौती भइरहेको छ ।यसैकारण गुनासो चुलिएको मन्त्रालयको आकलन छ ।

तर नेतृत्व परिवर्तनपछि प्राधिकरणमा विद्युतको आपूर्तितर्फको व्यवस्थापन कमजोर देखिन थालेको मन्त्रालयका एक अधिकारी बताउँछन् । माग धान्न बिजुली पर्याप्त भएपनि पूर्वाधार कमजोर भएकाले आपूर्तिको व्यवस्थापन चुनौती रहेको उनको भनाइ छ ।वितरण केन्द्रलाई प्राधिकरण नेतृत्व तहबाट दिइने दबाब र प्रोत्साहन कम भएर हेलचेक्र्याइँ बढेको उनको निश्कर्ष छ । ‘नेतृत्व परिवर्तन हुने भएपछि एक महिनाअघिबाटै तलका बिजुली अड्डामा माथिको कुरालाई बेवास्ता गर्ने क्रम सुरु भएको थियो,’ उनी भन्छन्, ‘पहिले लाइन गयो भनेपछि माथिको गाली खाइन्छ भनेर छिटो हुने मर्मतका काम अहिले आनन्दले गर्ने शैली देखिन थालेको छ ।’

प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने कारणले जनगुनासो चुलिएको ती अधिकारी बताउँछन् । कुलमानमाथि ग्राहकको बढी भरोसा भएका कारण पनि अहिले केहीबेर लाइन जानासाथ आशंका जन्मिने गरेको ती अधिकारीको भनाइ छ ।

प्राविधिकबाहेक अन्य कारणले लाइन काट्नुपर्ने अवस्था अहिले नरहेको प्राधिकरण पनि बताउँछ । निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला विभिन्न स्थानमा भइरहेका सडक बिस्तार र मर्मतका क्रममा लाइन काटिने गरेको बताउँछन् । विजुलीको माग जति भएपनि धान्नसक्ने अवस्था रहेकाले आपुर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न उनको आग्रह छ । ‘कति ठाउँमा फिडर मर्मतको काम गर्नुपर्छ, सडक विस्तारका लागि पोल सार्नुपर्छ,’ कोइरालाले भने, ‘यस्तै कामका लागिबाहेक लाइन काट्नुपर्ने अवस्था छैन ।’

कतिपय ठाउँमा ट्रान्सर्फमर फेर्न पनि लाइन काटिने गरेको उनले बताए । मर्मतको लागि छोटो अवधि लाइन काटिँदा धैर्य गर्न उपभोक्तालाई उनको आग्रह छ । ‘सबै वितरण केन्द्रलाई पूर्वसूचना वा जानकारी दिएर मात्र लाइन काट्न निर्देशन दिएको छु,’ उनले भने, ‘लाइन जानुअघि उपभोक्तालाई सामाजिक सञ्जालबाटै भएपनि जानकारी दिइनुपर्छ ।’

निमित्त कार्यकारी निर्देशक कोइरालाका अनुसार अहिले मौसम सामान्य रहेकाले वितरण लाइनमा ठूलो प्राविधिक समस्या छैन । ‘मौसम परिवर्तनको समय नआइसकेकाले अहिले देखिएका समस्या सामान्य हुन्’, उनले भने, ‘कतै समस्या आए मर्मतका लागि तुरुन्त प्रविधिक टोली परिचालन गर्न निर्देशन दिएका छौं ।’

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार अहिले पिक आवर (विहान र साँझ)मा १२२५ देखि १२५० मेगावाटसम्म विद्युत माग छ । पिक आवरमा प्राधिकरणका आयोजनाबाट ५०० मेगावाट र करिब ५५० मेवा निजी जलविद्युत कम्पनीबाट लिइन्छ । अपुग हुने १०० देखि १८० मेगावाट भारतबाट आयात गरिन्छ । अहिलेको पिक आवरमा करिब १४०० सय मेगावाट बिजुली माग हुने प्रक्षेपण थियो । तर, कोरोना महामारीका कारण उद्योग, होटल, सिनेमा हल लगायतबाट हुने माग घटेकाले माग प्रक्षेपण भन्दा निकै तल छ । अनलाईन खबरबाट साभार गरिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = four