काठमाडौं : होली पर्व प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाईने एक रमाईलो पर्व हो । मानिसहरु आफ्नो काम धन्दा थाति राखेर तथा बिर्सिएर अबिर र विभिन्न रङ सँगै खुशी साटासाट गर्दछन् । तर हामीमध्ये धेरैलाई होली किन मनाईन्छ भन्नेबारेमा थाहा छैन । लोकपथले होली खेल्नुको शास्त्रीय मान्यताबारे यहाँ प्रस्तुत गरेको छ ।
त्रेता युगमा हिरण्य कश्यप नाम गरेको एक राक्षस थियो । उसको पुत्र प्रह्लाद विष्णु भक्त थिए । प्रह्लाद हरेक दिन भगवान विष्णुको पूजा तथा आराधना गर्दथे तर यो कुरा राक्षस हिरण्य कस्यपलाई मन परेको थिएन ।
राक्षस हिरण्य कश्यपले आफ्नो छोरालाई बारम्बार सम्झायो तथा बिभिन्न किसिमको यातना पनि दियो तर प्रह्लादलाई भगवान विष्णुको कृपाले गर्दा केहि हुँदैन थियो ।
भगवान विष्णुको नाम लिन तथा पूजा आराधना गर्न नछोडेपछि हिरण्य कश्यपले प्रह्लाद मार्नको निम्ती आफ्नी बहिनी होलीका लाई नियुक्ति गर्यो ।
होलीकालाई आगोले नजल्ने वरदान प्राप्त थियो । होलीकाले आफ्नो दाजु राक्षसको प्रह्लाद मार्ने ईच्छा पुरा गर्न प्रह्लादलाई लिएर आगोमा पसिन् । त्यहाँ दैवी चमत्कार भयो विष्णु भक्त प्रह्लादलाई केहि भएन उनी सकुसल भए तर होलीका आगोले जलेर भस्म भईन् ।
फागुन पूर्णिमा भन्दा एक दिन अगाडि अर्थात् हिजो राति होलीका दहन गर्ने परम्परा रहेको छ । होलीका दहन गरिसकेपछि आज पानिमा रङ घोलेर एक अर्कालाई फाल्ने गरिन्छ ।
हिरण्य कश्यपकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसी भई ठूलो उत्सव गरियो । अविर जात्रा भयो, त्यहि समयबाट नै होली पर्वको शुरुवात हुन पुग्यो ।
सत्यको पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतिक होलीका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर,अविर दलेर, दूवो फूल छर्किएर महोत्सव मनाइयो ।
त्यसै बेलादेखि यो उत्सव प्रत्यक वर्ष आजकै दिन मनाइदै आएको पाइन्छ । नेपालमा पनि हिमाली तथा पहाडी ईलाकामा आज र तराईमा भोलि होली खेल्ने चलन रहि आएको छ ।